लामिछाने फराकिलो मतान्तरसहित विजयी,समर्थकलाई भने–‘अरुलाई गाली नगर्नुहोस

चितवन- चितवन क्षेत्र नं–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फराकिलो मतान्तरले विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धीभन्दा ४२ हजार नौ सय ६२ बढी मत ल्याएर उहाँ विजयी हुनुभएको हो ।

विजयी लामिछानेले ५४ हजार एक सय ७६ मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार दुई सय १४ मत प्राप्त गर्नुभयो । यस्तै नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले १० हजार नौ सय ३६ मत प्राप्त गर्नुभयो । राप्रपाका जीवलाल पुरीले तीन सय ७५ मत प्राप्त गर्नुभयो ।

चितवन क्षेत्र नं–२ मा ७८ हजार छ सय ६४ मत खसेको थियो । जसमध्ये एक हजार एक सय ९८ बदर भई ७७ हजार चार सय ६६ सदर भएको थियो । सो क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गरिएको हो । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका थिए । ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार ४०३ पुरुष र एक तेस्रो लिङ्गी रहेका थिए ।

गत मङ्सिरमा सम्पन्न निर्वाचनमा समेत विजयी लामिछानेले त्यतिबेला ४९ हजार दुई सय ६४ मत प्राप्त गर्नुभएको थियो । नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार नौ सय ८३, एमालेका कृष्णभक्त पोखरेलले १४ हजार छ सय ४७ र राप्रपाका रवीन अधिकारीले नौ सय ५५ मत प्राप्त गर्नुभएको थियो ।

चितवन–२ को उपनिर्वाचनका नवनिर्वाचित सांसद रवि लामिछानेले अरुलाई सामाजिक सञ्जालमा गाली नगर्न अपिल गरेका छन् । जितपछि आयोजित पहिलो आमसभालाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् । उनले आफूहरुको संस्कार भनेको अरुलाई सम्मान गर्नु भएको भन्दै सोहीअनुसार प्रस्तुत हुन समर्थकलाई अपिल गरे ।

लामिछानेले निर्वाचनको क्रममा आफूहरूमाथि गरेको अपमानको जवाफ चितवनका जनताले राम्रोसँग दिएको पनि दाबी गरे । उनले थपे,‘निर्वाचनको क्रममा हामीमाथि विभिन्न लाञ्छना लगाएका छन् । विभिन्न आरोप प्रत्यारोप लगाएका छन् । अपमान गरेका छन् । सार्वजनिक अभिव्यक्ति नै सुन्न नसक्नेछन् । व्यक्तिगत तहमै उत्रिएर गालीगलौज गरेका छन् । कतिपयल जवाफ दिनुस् भन्नुहुन्थ्यो । तर, मैले भन्ने गर्थें-यसको जवाफ मैले राख्नु पर्दैन चितवनवासीले राखेका छन् भनेर । आज सबैको जवाफ एकमुष्टरूपमा चितवनले स्वस्तिक छाप लगाएर दिएको छ ।’

उनले आफू जनताको घरघरमा पुग्ने भन्दापनि आफ्नो नीति जनताको घरघरमा पुर्याउने पक्षमा रहेको सुनाए । उनले आफूहरुले बनाएको नीतिले चितवनको समग्र विकास हुने बताए । उनले आफू चितवनको विकासको योजना बनाउन लागिपर्ने पनि बताए । उनले चितवनवासी नै आफ्नो परिवार भएको उल्लेख गर्दै आगामी पाँच वर्षमा आफ्नै नेतृत्वमा सरकार बनाउने पनि उद्घोष गरे ।