June 19, 2024, Wednesday
२०८१ असार ६, बुधबार

सिन्धुलीमा कार दुर्घटना,चार भारतीय नागरिकको मृत्यु

सिन्धुली- विपी राजमार्गको खनियाखर्क नजिक कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । विपी राजमर्गको कमलामाई नगरपालिका ३ सिन्धुलीगढीको गेट नजिकै काठमाण्डौतर्फ जाँदै गरेको भारतीय नम्बरको गाडी सडकबाट करिब पाँच सय मिटर तल खसेको छ । मङ्गलबार राति बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ ।

सो दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दुर्घटना गए राति १२ः३० बजे भारतीय नम्बर प्लेटको बीआर०६ डिडी ०६८७ कार अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते एक पुरुषलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ । कारमा पाँच जना सवार थिए । मृतक चारै जना पुरुष हुन् । मृतकमध्ये एक पुरुषको शव सिन्धुली अस्पतालमा र अरु तीन पुरुषको शव घटनास्थलमै रहेको सिलवालले जानकारी दिनुभयो ।

राजमार्गको भीर भएको स्थानमा कार सडकबाट पाँच सय मिटर तल खसेको थियो । भीरमा जान सहज नभएका कारण शव निकाल्न सकिएको छैन । “त्यहाँ पुग्नै एक घण्टाभन्दा बढी समय लाग्छ, शव कसरी निकाल्ने भन्ने समस्या छ”, उहाँले भन्नुभयो ।

शव निकाल्न नेपाली सेनासँग सहयोग मागिएको र सेनाको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरी उपरीक्षक सिलवालले बताउनुभयो । कारमा सवार पाँचै जनाको परिचय खुल्न सकेको छैन ।

शीर्ष समाचार

धेरै पढिएको