कैलाली-अत्तरिया तनाब: प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास र ढुङ्गा प्रहार

कैलाली, चिकित्सक र स्टाफ नर्समाथि कारबाहीको माग गर्दै पूर्वपश्चिम राजमार्गको अत्तरियामा
गरिएको प्रदर्शनका क्रममा तनाब सृजना भएको छ ।
मंगलबार कैलालीको अत्तरियास्थित मालाखेती अस्पतालका चिकित्सकको लापरबाहीले नवजात शिशुसहित सुत्केरी महिलाको मृत्यु भएको भन्दै स्थानीयवासीले गरेको प्रदर्शनमा अत्तरिया क्षेत्र तनावग्रस्त बनेको थियो ।
यसअघि प्रसूति सेवाका लागि मालाखेती अस्पताल पुगेकी गोदावरी नगरपालिका–२ की २८ वर्षीया लक्ष्मी भट्टराईको नवजात शिशुसहित आइतबार मृत्यु भएको थियो । घटनालगत्तैबाट स्थानीयवासीले प्रदर्शन जारी राखेका छन् ।
यसैबीच मृतक पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र लापरबाही गर्ने चिकित्सक र स्टाफ नर्समाथि कारबाहीको माग गर्दै गरिएको प्रदर्शनका क्रममा आज पूर्वपश्चिम राजमार्गको अत्तरिया सडकखण्ड अवरुद्ध पार्ने प्रयास गरिएपछि प्रहरीले बल प्रयोग गरी सडक सञ्चालनमा ल्याएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दका अनुसार सोही क्रममा प्रहरी टोलीमाथि ढुङ्गामुढा प्रहार भएपछि स्थिति नियन्त्रण बाहिर गएको हुँदा प्रहरीले लाठी चार्ज गर्नुका साथै केही राउण्ड अश्रुग्यास प्रहार गरी प्रदर्शनकारीलाई तितरबितर पारिएको हो ।
यता मृतक लक्ष्मी र नवजात शिशुको शव आज दोस्रो दिनसम्म उठेको छैन । पीडित पक्ष, अस्पताल प्रशासन र गोदावरी नगरपालिकाबीच समस्या समाधानका लागि छलफल जारी रहेको छ ।
अस्पतालसँग यसअघि आइतबार पनि भएको छलफल पछि पनि आफ्ना माग पूरा नगरेकाले पीडित पक्षले शव उठाउन मानेको छैन ।
प्रतिकृया दिनुहोस्