April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

एसईई शुक्रबारदेखि सुरु,परीक्षा बिहान ८ बजेदेखि हुने

भक्तपुर, चैत १६ गते । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु हुँदैछ। उक्त परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षामा सहभागी हुन देशभरिका पाँच लाख १६ हजार ५७७ जनाले आवेदन फाराम भरेका छन्। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ।

पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो। आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ। प्रदेशस्तरमा अनिवार्य विषयका प्रश्नपत्रको समानान्तर सेट तयार गरिएको छ। कठिनाइ स्तर एउटै भए पनि हरेक प्रदेशमा फरक प्रश्न सोधिने छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठले प्रश्नपत्र र उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा पठाइसकिएको जानकारी दिनुभयो। देशभर दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएका छन्।

नतिजा सुधार्न एक दिन बिदा

माध्यमिक शिक्षा परीक्षा (एसईई)मा अनिवार्य विज्ञान विषयको नतिजा उकास्न यस पटकदेखि एक दिन बिदा दिइएको छ। चैत २१ गते बिदा दिएर चैत २२ गते अनिवार्य विज्ञान विषयको परीक्षा सञ्चालन गरिने भएको छ। एसईईमा सबैभन्दा कमजोर नतिजा अनिवार्य अङ्ग्रेजी, गणित र विज्ञान विषयको रहने गरेको छ। त्यसबाहेक अनिवार्य नेपाली र सामाजिक शिक्षाको नतिजा पनि कमजोर नै मानिन्छ। अङ्ग्रेजी र गणितका लागि बिदा भए पनि विज्ञानका लागि परीक्षाको अघिल्लो दिन बिदा नहुँदा त्यसले नतिजामा असर पर्न गएको ठम्याइ राष्ट्रिय परीक्षा बोर्डको छ।

परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले एक दिन ‘ग्याप’ रहँदा विज्ञानको नतिजामा तुलनात्मक सुधार आउने तर्क गर्दै भन्नुभयो, “विज्ञानको नतिजा पनि त्यति सुखद छैन। एक दिन बिदा पाउँदा विद्यार्थीले अध्ययन गर्ने अवसर पाउनेछन्। त्यसो हुँदा नतिजामा केही सुधार देखिने अवस्था रहन्छ।”

२०७८ सालको एसईईमा विज्ञान विषयमा सबैभन्दा बढी विद्यार्थीले ‘सी ग्रेड’ प्राप्त गरेका थिए। गत वर्ष विज्ञानमा एक लाख छ हजार ५१३ जनाले ‘सी ग्रेड’ प्राप्त गरेका थिए।

त्यो वर्ष अङ्ग्रेजीमा सबैभन्दा बढी ८५ हजार ६४२ जनाले ‘सी ग्रेड’, गणितमा सबैभन्दा बढी एक लाख ८८ हजार ९४ जनाले ‘ई ग्रेड’ र नेपालीमा सबैभन्दा बढी एक लाख ४१ हजार ६५९ जनाले ‘सी प्लस ग्रेड’ हासिल गरेका थिए। २०७८ सालको एसईईमा अनिवार्य अङ्ग्रेजी विषयमा १५ हजार ३९९ जनाले ए प्लस, नेपालीमा एक हजार ८०४ जनाले ए प्लस, गणितमा चार हजार ९५१ जनाले ए प्लस र विज्ञानमा आठ हजार ६५८ जनाले ए प्लस ग्रेड ल्याएका थिए।

२०७७ सालमा अनिवार्य विज्ञान विषयमा सबैभन्दा बढी एक लाख ३७ हजार ९२७ जनाले बी प्लस, गणितमा सबैभन्दा बढी एक लाख तीन हजार ९९३ जनाले सी प्लस र अङ्ग्रेजीमा सबैभन्दा बढी एक लाख ३१ हजार ९३३ जनाले बी प्लस ग्रेड ल्याएका थिए। २०७६ सालको एसईईमा विज्ञानमा सबैभन्दा बढी एक लाख १० हजार २६३ जनाले सी प्लस, गणितमा सबैभन्दा बढी एक लाख १३ हजार १९० जनाले सी र अङ्ग्रेजीमा सबैभन्दा बढी एक लाख चार हजार ९२१ जनाले सी प्लस ग्रेड प्राप्त गरेका थिए।

शीर्ष समाचार

धेरै पढिएको