चुनावमा पार्टीलाई पहिलो बनाएका देउवाले धेरै लिन्छु भन्दा सबैथोक गुमाए !
नेकपा एमालेसहितको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने निश्चित भएसँगै प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सत्ता र शक्तिबाट सम्पूर्ण रूपमा बाहिर रहने भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतवार पाँच दलबीच भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति जुटेको हो । अन्य दुई दल पनि थपिएर यो संख्या ७ पुगेको छ ।
राष्ट्रपति, उपराष्ट्रपति, सभामुखलगायत महत्त्वपूर्ण पदको भागबण्डा भने पछि गर्ने सहमति भएको छ ।‘एमालेले राष्ट्रपति र सभामुख लिने भद्र सहमति भएको छ, आज समय नभएकाले छलफल गर्न पाएनौं,’ बालकोट बैठकमा सहभागी एक भने ।
दुई ठूला वामपन्थी र अन्य साना दल मिलेर सरकार बनाएपछि प्रतिनिधिसभाको पहिलो दल कांग्रेस भने सत्ताबाहिर रहने भएको छ ।कांग्रेससँगै १० सीट रहेको नेकपा एस पनि बाहिर रहने भएको छ । प्रतिनिधिसभा र केही प्रदेशसभामा पहिलो दल बने पनि अब कांग्रेस सम्पूर्ण रूपमा सत्ताबाहिर रहने देखिएको हो ।
प्रतिपक्षमा रहँदा कांग्रेसले एउटा मात्र पद पाउँछ त्यो हो– प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापति । प्रतिनिधिसभामा कांग्रेसका ८९ सांसद छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पहिलो कार्यकालको प्रधानमन्त्री दिन अस्वीकार गरेपछि कांग्रेस सत्ताच्युत हुने भएको हो ।
सर्वोच्च अदालतको परमादेशले केपी शर्मा ओलीलाई हटाइदिएपछि शेरबहादुर देउवा प्रधानमन्त्री बनेका थिए ।नेतृत्वको अक्षमताले सत्ता गुमाएको भन्दै कांग्रेसका नेताहरूले आक्रोश जनाउन थालेका छन् ।‘बुझेकै हो, बुझ्नेले स्वाहाको बाटो रोजेपछि …’ कांग्रेस नेता चन्द्र भण्डारीले सामाजिक सञ्जाल फेसबूकमा सन्देश लेखेका छन् ।
प्रतिकृया दिनुहोस्