
गण्डकी प्रदेशसभामा विभिन्न राजनीतिक दलले समानुपातिक सांसदको टुंगो लगाएका छन् । ६० सदस्यीय गण्डकी प्रदेशसभा अन्तर्गत प्रत्यक्षतर्फ ३६ जना निर्वाचित भएकोमा बाँकी २४ जना सांसद टुंगो लागेका हुन् ।
थ्रेस होल्ड कटाएर सिट प्राप्त गरेका गण्डकीका ४ राजनीतिक दलहरुले निर्वाचन आयोगमा आफ्ना सदस्यहरुको सूची बुझाएका हुन् । तीमध्ये एमालेका १०, कांग्रेसका ९, माओवादी केन्द्रका ३ र राप्रपाका २ जना समानुपातिक सांसद छन् ।
एमालेबाट खस आर्य महिलामा यशोदा रिमाल र देवका पहारी त्रिपाठी तथा पुरुषमा कृष्णप्रसाद पाठक र प्रकाश केसी छन् । आदिवासी जनजातिबाट महिलामा बिना थापा, निर्मला थापा र राजकुमारी भुजेल तथा पुरुषमा लिलाबहादुर थापा छन् । दलिततर्फ महिलामा नन्दकला दमाई र पुरुषबाट गोविन्दबहादुर नेपाली समानुपातिकबाट सांसद बनेका छन् ।
कांग्रेसबाट ९ जना सबै महिला छन् । खस आर्यमा सरस्वती अर्याल, चम्पादेवी खड्का र कल्पना तिवारी, आदिवासी जनजातिमा विमला गौचन, रेखा गुरुङ, सरस्वती गुरुङ र पार्वती तामाङ, दलितमा टिकाकुमारी बस्याल र दिलमाया पौवि सांसद छानिएका छन् ।
उता, माओवादी केन्द्रबाट कुशुम बुढा, सुशिला सिंखडा र दमयन्ती रुचाल सांसद बनेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पञ्चराम गुरुङ र विन्दु पहाडी सांसद बनेका छन् ।
गण्डकीका ११ मध्ये मनाङ, मुस्ताङ र तनहुँबाट कुनै पनि समानुपातिक सांसद छैनन् । सबैभन्दा बढी बागलुङले ७ जना, कास्कीबाट ५ जना, स्याङजाबाट ४ जना, लमजुङबाट ३ जना, नवलपुरबाट २ जना तथा गोरखा, पर्वत र म्याग्दीबाट १/१ सांसद बनेका छन् ।
गण्डकी प्रदेश सभाको आगामी कार्यकालमा प्रत्यक्ष र समानुपातिक गरी २१ जना महिला र ३९ जना पुरुष सांसद हुने छन् ।







