
काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडियाहरूमा अन्तर्वार्ता नदिने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी गराएका हुन् ।
उनले औपचारिक शपथग्रहणको दिन वा त्यसअगावै आफ्नो चुनावी खर्चको पूर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने भएका छन् ।
यस चुनावमा ११ लाख ८१ हजार ४ सय ७२ रुपैयाँ खर्च भएकाे देखिएको र पछिसम्मका लागि सोचेर खरिद गरिएका अतिरिक्त कार्यालय सामग्रीहरूको हिसाब नजोडिएको जनाएका हुन् । उनले कार्यकालभरि कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने, सबै संघसंस्थाहरूको हकहितको नीतिगत काममा दिलोज्यानले लाग्ने तर ती कार्यक्रमहरूको उद्घाटन, आसनग्रहण र भाषणहरूमा सहभागी नहुने बताएका छन् ।
उनले मिडियाहरूमा अन्तर्वार्ता दिने र पार्टीका नीतिहरूबारे बोल्ने जिम्मा पार्टीका अन्य व्यक्तिलाई दिइएकाले प्रवक्ता तथा सूचना अधिकारीहरूले यसमा सहयोग गर्ने बताएका छन् ।







