
काठमाडौं, हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको छ । गृह सचिव विनोदप्रकाश सिंहका अनुसार आइतबार दिउँसो काठमाडौं उपत्यकाका (काठमाडौं, भक्तपुर, ललितपुर) का विभिन्न मतदान स्थलको अवलोकन गर्दै उनले देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको बताएका हुन् ।
अहिलेसम्म शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान भइरहेको र मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान पुनः सुचारु गराउन पहल गरिरहेको र कतिपय स्थानमा पुनः सुचारु भइसकेको उनको भनाइ छ ।
उनले भने, ‘शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान भइरहेको हामीले पाइरहेका छौँ । मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान पुनः सुचारु गराउन हामीले व्यवस्था गरिरहेका छौँ । निर्वाचन सामग्री, निर्वाचन कर्मचारी र मतदाताहरू र उम्मेदवारलाई कुनैपनि किसिमको भौतिक हामी पुगेको छैन । हामीले सुरक्षा व्यवस्था कडा बनाएका छौँ । ४६ प्रतिशतसम्म मतदान भएको भन्ने जानकारी आएको छ । मतपेटिका ढुवानीका लागि आवश्यकता अनुसारका सवारीसाधन तैनाथ राखिएको छ ।’







