
काठमाडौं,भोलिदेखि जयनगर–कुर्था रेलमार्गमा तीन दिन यात्रुको सुविधाअनुसार रेल सेवा सञ्चालन हुने भएको छ । नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले सूचना निकालेर सो जानकारी दिएका हुन् ।
नेपाल रेल्वे कम्पनीका अनुसार कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन पुग्ने तीर्थालुको सुविधालाई ध्यान दिँदै भोलि, पर्सि र बुधवार यात्रुको सुविधाअनुसार निर्धारित सिफ्टभन्दा बाहेकको समयमा पनि रेल सेवा सञ्चालन गर्नेे जनाएको छ ।
यसैगरी कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुको सुविधालाई ध्यानमा राखेर भोलिबाट बुधवारसम्म जयनगर–जनकपुरसम्म अनटाइम्ली सेवा सञ्चालन हुनेछ ।
कात्तिक पूर्णिमामा कमला नदीमा स्नान गर्न ठूलो सङ्ख्यामा नेपालका विभिन्न ठाउँबाट तीर्थालु पुग्छन् । यस्तै, भारतबाट समेत तीर्थयात्री आउने गरेका छन् ।
तीन दिन यात्रुको चाप बढ्नसक्ने भएकाले निर्धारित सिफ्टभन्दा बाहेकको समयमा पनि रेल सेवा सञ्चालन गर्न लागिएको झाको भनाई छ ।







