निर्वाचन आयोगले गत असोज २८ गतेदेखि सञ्चालन गरेको कल सेन्टरमा बिहीबारसम्म दुई हजार ३९८ वटा जिज्ञासा आएका छन् ।

आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरी कल सेन्टर सञ्चालनमा ल्याएको हाे । निःशुल्क रहेको टोल फ्रि नं. ११०२ नम्बरमा जुनसुकै दूरसञ्चार सेवा प्रदायकका फोनबाट सम्पर्क गर्न सकिने गरी उक्त सेवा सञ्चालनमा ल्याएको छ । “सेवाका लागि छ जना कर्मचारी २४ घण्टा सेन्टरमा खटिएका छन् ।”
कल सेन्टर २४ घण्टा नै सञ्चालनमा छ । यसका लागि बिहान ९ देखि साँझ ७ बजेसम्म कर्मचारी रहने गरेका छन् । कर्मचारी नभएको अवस्थामा सरोकारवालाको प्रश्न स्वतः रेकर्ड हुने व्यवस्था छ । उक्त रेकर्डेड प्रश्नलाई पछि कर्मचारीहरुले सुनेर सम्बन्धित व्यक्तिको उत्तर दिने व्यवस्था छ ।“कल सेन्टरका कर्मचारीले प्रश्नकर्ताको उत्तर दिने गर्छन्, आफू नसक्ने प्रश्नका लागि सम्बन्धित विभागमा पठाउँछन् ।”
कल सेन्टरमा आउने जिज्ञासा यस्ता छन्
कल सेन्टरमा आउने जिज्ञासा निर्वाचनसँग सम्बन्धित हुने गरेको छ। स्थानीय तह गाउँपालिका तथा नगरपालिकाका जनप्रतिनिधिले दलको चुनाव प्रचार–प्रसार गर्न पाउँछन् कि पाउँदैनन् ? कार्यपालिकाको निर्णयअनुसार करारमा कार्यरत कर्मचारीले के गर्न मिल्छ ?
यस्तै, मिडियालाई अनुगमन गर्न सेना र प्रहरी प्रयोगमा छन् कि ? वास्तविक मतपत्रको नमुना कहिले आउँछ ? निर्वाचनमा मतपत्र कस्तो हुन्छ ? कसरी मत दिने हो ? नामावली कसरी हेर्ने ? मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न पाइन्छ ? नमुना मतदानका लागि मतपेटिका उपलब्ध गराइन्छ ? के गर्दा आचारसंहिता विपरीत हुन्छ ? पत्रकारले मतदान केन्द्रमा स्थलगत रिपोर्टिङ गर्न कसको अनुमति लिनुपर्छ ? जस्ता जिज्ञासा छन् ।







