
काठमाडौं, लकडाउन खुलेपछि कोरोना देशव्यापी रुपमा फैलिएको छ भने अझै बढ्ने क्रममा छ । बन्दाबन्दी अघिसम्म काठमाडौंँ उपत्यकामा लगभग शूून्यको अवस्थामा रहेको कोरोना पछिल्ला केही दिनमै दुई सयभन्दा बढीको सङ्ख्यामा बढेको छ ।
सोमबार मात्र उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या २२४ पुगेको छ । एकै दिनमा उपत्यकामा बढेको यो उच्च सङ्ख्या हो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार उपत्यकामा थप २२४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये काठमाडौँमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना नयाँ सङ्क्रमित पुष्टि भएका छन् ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले सरोकार निकाय र नागरिक तहमा उच्च सतर्कता आवश्यक भएको बताएका छन । उनले यही अवस्थामा सङ्क्रमितको सङ्ख्या बढ्दै गए समुदायमा फैलने र उपचारमा समेत कठिन हुनेछ बताए ।
नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३२ हजार ६७८ पुगेको छ । प्रवक्ता गौतमले देशभर ११ हजार २७५ जना क्वारेन्टाइनमा रहेको बताएका छन । त्यसैगरी होम क्वारेन्टाइनमा चार हजार ५६१ जना छन् । विभिन्न अस्पतालका आइसोलेसनमा नौ हजार १५४ जना सङ्क्रमित उपचाररत छन् ।
प्रवक्ता डा. गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप आठ जना कोरोना सङ्क्रमितको मृत्यु भएको जानकारी दिए ।







