
काठमाडौं, खोटाङमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । अरिङ्गालको टोकाइबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित बानाचुङका २६ वर्षीय विनोद परियारको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बाटो हिँडिरहेको अवस्थामा शुक्रबार बाटो नजिकै रहेको गोलाबाट निस्केको अरिङ्गालले टोक्दा परियारको घटनास्थलमै मृत्यु भाएको हो ।
मृतक परियारसँगै हिँड्दै गरेका सोही ठाउँका २५ वर्षीया शर्मिला नेपाली र ७२ वर्षीय नैनसिं दर्जी घाइते भएका छन् भने उनीहरुको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङका अनुसार अस्पतालमा उपचाररत दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । मृतकको शव उनका आमा बदम परियारले अन्तिम दाहसंस्कारका लागि बुझिसकेका छन् ।







