
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मधेशकेन्द्रित दल तानातानमा परेका छन् ।सत्तारुढ गठबन्धन र नेकपा एमालेले अन्य दलसँग तालमेल गर्दै सिट बाँडफाँटको टुंगो लगाउने अन्तिम प्रयास गरिरहेका छन् ।
शुक्रवार दिनभर बालुवाटारमा सत्तारुढ गठबन्धनको र एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जनता समाजवादी पार्टी (जसपा) नेपाल र राप्रपाको छुट्टाछुट्टै छलफल भएको छ ।
मधेशकेन्द्रित दलहरू जसपा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बालुवाटार र बालकोट दुवैतिर तानातानमा परेका छन् । सत्तारुढ गठबन्धनमा रहेको जसपा सिट बाँडफाँटमा असन्तुष्ट हुँदै एमालेसँग नजिकिएको छ भने लोसपा बालुवाटारसँग नजिकिएको छ ।
बालुवाटारमा जारी गठबन्धनको बैठकमा लोसपा पनि सहभागी भएको छ तर पहिल्यैदेखि गठबन्धनमा सहभागी जसपा बैठकमा सहभागी छैन । जसपाले एमालेसँग सिट बाँडफाँटको छलफल गरिरहेको छ ।
बालकोटमा राप्रपाले समेत केही जिल्लामा तालमेलका लागि एमालेसँग छलफल गरिरहेको छ । झापा, चितवन, रुपन्देही, बाँके लगायत जिल्लामा राप्रपाको एमालेको सहयोग खोजेको छ ।
सिट बाँडफाँटका क्रममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको स्वार्थ बाझिँदा टुंगो लाग्न सकेको छैन । गठबन्धनले कार्यदल नै बनाएर बाँडफाँटको अभ्यास गरेपनि सफल हुन सकिरहेको छैन ।







