
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले दोहाबाट काठमाडौं आएर प्रहरीसामु आत्मसमर्पण गरेका छन् । कतार एयरवेजको विमानबाट नेपाल ओर्लिएका लामिछानेलाई नियन्त्रणमा लिन प्रहरीले पूर्वतयारी समेत गरेको थियो ।
बलात्कारको आरोपमा लागेका लामिछाने विरुद्ध अदालत खुलेपछि मात्रै म्याद थपको प्रक्रिया अगाडि बढ्ने भएको छ ।
दोहाबाट कतार एयरवेजको जहाजमार्फत आज बिहान नेपाल फर्किएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको हो ।
अदालत २४ गतेबाट खुल्नेछ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले भने, “अदालत खुलेपछि म्याद थप हुन्छ । तर दिनगन्ती आजैबाट हुन्छ । प्रहरीले सुक्ष्म रुपमा थप अनुसन्धान अगाडि बढाउँछ ।”प्रहरी वृत्त गौशालामै राखेर सन्दीपविरुद्धको अनुसन्धान अगाडि बढनेछ ।
यसअघि हतकडी नलगाइदिन आग्रह गर्दै प्रहरीलाई पत्राचार गरे पनि विमानस्थलमा ओर्लनासाथ हतकडी लगाइदिएको थियो ।तर विमानस्थलमा प्रहरीसँग सन्दीप ‘एक शब्द’ पनि नबोलेको प्रहरीले जनाएको छ ।
सन्दीपमाथि गत भदौ ५ गते काठमाडौंको एक होटेलमा नाबालिगमाथि बलात्कार गरेको आरोप छ । काठमाडौंको होटेल काठमाडौं इनमा सोही राति सन्दीपले ती किशोरीलाई पटक–पटक बलात्कार गरेको उजुरीमा उल्लेख छ ।
उनीविरुद्ध भदौ २१ मा प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो ।







