
काठमाडौं, नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलले बिहिवार सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेका छन् ।
फ्रान्स–नेपाल संसदीय मैत्री समुहका अध्यक्ष डेनियल साल्मन नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले बिहिवार विहान सिंहदरबारस्थित कार्यकक्षमा सभामुख सापकोटासँग भेट वार्ता गरेको हो ।
भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच सन् १९४९ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सुमधुर, मैत्रिपूर्ण, समता र आपसी समझदारीमा आधारित रहेको बताउँदै उच्चस्तरीय भ्रमणले सम्बन्धलाई गुणात्मकता दिने विश्वास व्यक्त गरेका छन् ।
सभामुख सापकोटाले फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियामा गरेको सहयोगको प्रशंसा गर्दै फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यको स्मरण गरे ।
यसैगरी भेटमा फ्रान्स–नेपाल संसदीय मैत्री समुहका अध्यक्ष डेनियलले नेपालमा गरिएको आतिथ्यताका लागि आभार व्यक्त गरे । उनले जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न सबैले शक्ति लगाउनु पर्नेमा जोड दिएका छन्







