निर्वाचन आयोगका अनुसार मंसिर ४ गते हुने चुनावका लागि देशभर १० हजार ८८८ मतदानस्थल कायम भएको छ । निर्वाचन आयोगले सोमवार विज्ञप्ति प्रकाशन गरेर मतदानस्थल पुनरावलोकन गरेको बताएको हो ।

यसअघिको निर्वाचनभन्दा १३२ मतदानस्थल थपेर आयोगले आगामी चुनावको मतदानस्थल तय गरेको छ ।
यसअघि देशभरका १० हजार ७५६ मात्रै मतदानस्थल थिए । आयोगको विज्ञप्तिमा उल्लेख भएअनुसार, देशभरका ४०१ मतदान स्थललाई हटाई नयाँ मतदानस्थल तय गरिएको छ ।

मतदाताको संघनता, मतदानस्थलसम्मको पहुँच, भवन, सञ्चार, विद्युत्, यातायातलगायतका पूर्वाधारको अवस्था, सुरक्षा एवं भौगोलिक अवस्था र निर्वाचनका सरोकारवालाहरूको सहमतिसमेतका आधारमा जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले गरेको सिफारिस बमोजिम मतदानस्थल पुनरावलोकन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।







