
गरुड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङ रिहा भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठको दबाबमा शुक्रबार पक्राउ परेका थिए । गुरुङलाई आवश्यक प्रक्रिया पूरा गरी रिहा गरिएको छ। उनलाई साधारण तारेखमा रिहा गरिएको हाे ।
गुरुङबारे प्रहरीबाट आएको फाइल अध्ययनपछि आवश्यक प्रक्रिया पूरा गरेर साधारण तारेखमा रिहा गरिएको छ ।’ गुरुङसँग प्रशासनले केहीबेर बयान लिएको थियो । त्यसपछि प्रमुख जिल्ला अधिकारीको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । बयानमा उनले आफूले कुनै गल्ती नगरेको र आफ्नो ड्युटी पूरा गरेको बयान दिएका छन् । उनलाई मुलुकी अपराध संहिताको अभद्र व्यवहारसम्बन्धी मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था छ ।
सुरक्षा गार्ड गुरुङलाई थुनामा राखेको भन्दै उनकी श्रीमती लक्ष्मी गुरुङका तर्फबाट सोमबार दिउँसो सर्वोच्च अदालतमा मन्त्री श्रेष्ठ, पर्यटन र गृह मन्त्रालय, प्रहरी, जिल्ला प्रशासन कार्यालय र जिल्ला सरकारी वकिलको कार्यालयलाई विपक्षी बनाएर बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो । रिटको सुनुवाइ मंगलबारका लागि तोकिएको छ । तर, त्यसअघि नै गुरुङलाई प्रशासनले सोमबार साँझ नै रिहा गरेको छ ।







