
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारी र माओवादी केन्द्रका शीर्ष नेतृत्वबीचको बुधबार भेटघाट भएको छ । सोही भेटका क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नागरिकता विधेयकमा राष्ट्रपतिले अनावश्यक राजनीतिकरण गरिनु दु:खद भएको बताएका छन् ।
राष्ट्रपतिले बोलाएपछि माओवादी केन्द्रका नेताहरू आज दिउँसो शितल निवास पुगेका थिए । प्रचण्डका उनका स्वकीय सचिव रमेश मल्लका अनुसार अंगीकृत नागरिकताको बारेमा राष्ट्रपतिको धारणासँग आफूहरू सहमत रहेको तर संसदमा उक्त विषयमा राष्ट्रिय सहमति बन्न नसकेको हो ।
प्रचण्डलाई उदृत गर्दै मल्लले सञ्चारमाध्यमलाई भने, ‘अंगिकृत नागरिकताको बारेमा राष्ट्रपतिज्युले राख्नु भएको चासो र हाम्रो धारण समान छ तर संसदमा यो विषयमा राष्ट्रिय सहमति बन्न सकेन त्यसकारण यो विषयमा विधेयकमा कुनै नयाँ व्यवस्था गरिएको छैन । यसबारे हाम्रो धारणा संसदमा रेकर्ड गराएका छौं ।’







