
काठमाडौं, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रबीच सोमबार भेटवार्ता भएको छ । आइतबार साँझ ६ बजेतिर ओली भेट्न मिश्र बालकोट पुगेका थिए ।
मिश्रका अनुसार दुई नेताबीच अढाइ घन्टा लामो भएको सो छलफलमा आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हस्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकतालगायत विषयमा छलफल भएको छ ।
भेटमा ओलीको राजनीतिक यात्रा, जेलजीवन र गोलघरको पीडा, चुच्चे नक्शा पारित गर्नु पूर्व भोगेका जटीलता लगायतका विषयमा कुराकानी भएको थियो ।
ओलीले भेटको अन्त्यमा नेपालको चुच्चे नक्सासहित आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रूपैयाँको एक मुठ्ठी सिक्का उपहार दिएको मिश्रले बताएका छन् ।
भेटका क्रममा ओलीले मिश्रलाई राजनीतिक क्षेत्रमा उचारचढाव भइरहने भएकाले नआत्तिन पनि भनेका थिए ।
मिश्रले उल्लेख गरेका छन्, ‘सबै विषयमा धाराप्रवाह बोल्न सक्ने उहाँले मलाई भन्नुभयो, ‘तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ। नआत्तिनु होला ।’







