
काठमाडौं, कज हरितालिका तीज व्रतको तयारी स्वरुप नेपाली महिला दर खाने तयारीमा छन् ।योसँगै आजबाट तीज सुरु भएको छ ।
विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ भने माइती पक्षले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ ।
दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ ।
तर तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि मीठा मीठा एवं आडिलो परिकार दरका रुपमा खाई मङ्गलबारको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाईले छोरी, चेली, दिदी बहिनीलाई बोलाई दर खुवाउने गर्दछन् ।
दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउन्छन् ।
यसैगरी महिलाहरुले वर्षदिनभर आफुलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरुले सार्वजनिक गर्दछन् ।







