
काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवस्थित शहरीकरणको विकासलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । शनिबार बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्दै देउवाले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री देउवाले भने, ‘नेपालको कुल जनसंख्याको २ तिहाई शहरी क्षेत्रमा बसोबास गर्छन्, अनियन्त्रित बसाइसराई रोक्न हिमाली र पहाडी क्षेत्रमा पनि व्यवस्थित शहरीकरणको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ । ’
यसैगरी मुलुकमा निर्माण भएका र निर्माणको चरणमा रहेका शहरहरूलाई व्यवस्थित र योजनावद्ध रूपमा अगाडि (निर्माण) बढाउनुपर्ने बताएका छन् ।
कार्यक्रममा लिखित मन्तव्य दिएका प्रधानमन्त्री देउवाले व्यवस्थित शहर नहुँदा स्वास्थ्य विपति र सामाजिक विकृति फैलिने गरेको बताए । व्यवस्थित शहरीकरणबाट मात्रै आर्थिक, सामाजिक र शैक्षिक गतिविधिले गति लिन सक्ने बताउँदै उनले यसबाट मात्र दीगो विकास लक्ष्य हासिल गर्न सकिने स्पष्ट पारे ।







