
काठमाडौं, आफुहरुले पटकपटक गरेको माग सम्बन्धित निकायले नसुनेपछि पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले क्याम्पस प्रशासनका कर्मचारीहरुको कान सफा गरिदिएका छन् ।
बुधबार बिहान विद्यार्थीहरुले उठाएको मागहरु प्रशासनले नसुनेको भन्दै अखिल (क्रान्तिकारी) पुर्वाञ्चल क्यामपस इकाई कमिटीका विद्यार्थीहरुले कर्मचारीहरुको कान सफा गरिदिएका हुन् ।
कर्मचारीहरु कार्यालयमा छिर्दा कार्यालयको मुल ढोकामा बसेका उनिहरुले कपासले कर्मचारीहरुको कान सफा गरिदिएका हुन् ।
धरान स्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसको भवनको छतबाट पानी चुहिने गरेको बारे क्याम्पस प्रशासनलाई पटकपटक जानकारी दिइएको भएपनि प्रशासन कानमा तेल हालेर बसेको विद्यार्थीहरुको आरोप छ ।
यसअघि होस्टलमा ‘फस्टऐड बक्स’ उपलब्ध गराइदिन ध्यानाकर्षण गरेको तर पनि अझै उपलब्ध नभएको र एकजनालाई सोही बारे तालिम दिन भनेको कुरा पनि पूरा नभएको विद्यार्थीहरुको गुनासो छ ।







