
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ दिवसले बाघको संरक्षणमा अझ ऊर्जाशील हुन प्रेरणा प्रदान गर्ने बताएकी छन् । विश्व बाघ दिवसका अवसरमा आज बिहान शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले भनिन, ‘जलवायु परिवर्तनले पारिरहेको नकारात्मक प्रभाव न्यूनीकरणका लागि जैविक विविधताको संरक्षण गर्न एवम् स्वस्थ पारिस्थितिक प्रणालीको निर्माणमा समेत योगदान गर्ने दुर्लभ वन्यजन्तु बाघको संरक्षणमा अझ ऊर्जाशील भई लागिरहन विश्व बाघ दिवसले सबैमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दछु,’ भण्डारीले भनेकी छन् ।
यसैगरी बाघको संरक्षणमा नेपालले लिएको अग्रसरता अन्तर्राष्ट्रिय जगतमा प्रशंसित भैरहेको बताएकी छन् । बाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले संसारभर सकारात्मक पहिचान बनाउन सफल हुनु प्रसन्नताको विषय रहेको बताएकी हुन् ।
‘हाम्रो देशका विभिन्न भागमा स्थापित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष क्षेत्रको विकासले बाघको बासस्थानलाई सुरक्षित बनाउन टेवा पुगेको छ । बाघको चोरी सिकारी तथा बाघका अङ्गहरूको अवैध व्यापार गर्ने ध्येयले गरिने ओसारपसार नियन्त्रणको लागि नेपालका सम्बद्ध निकायले निर्वाह गरेको भूमिकाबाट विश्वव्यापी बाघ संरक्षणको पहलकदमीलाई सार्थक बनाउन थप मद्दत मिलेको छ,’ उनले भनेकी छन् ।







