धनुषा जिल्ला अदालतका न्यायाधीश डा. परशुराम भट्टराईलाई अनुसन्धानका लागि सर्वोच्च अदालतमा तानिएको छ ।

रंगेहात पक्राउ परेका हत्या आरोपीलाई सफाइ दिइएको सम्बन्धमा सबैभन्दा पहिला लोकान्तरमा समाचार प्रकाशित भएपछि न्यायाधीश भट्टराईलाई अनुसन्धानका लागि काजमा सर्वोच्च अदालतमा तानिएको हो ।
सर्वोच्च अदालत स्रोतका अनुसार जिल्ला न्यायाधीश भट्टराईलाई आजैदेखि सर्वोच्चमा काज सरुवा गरिएको पत्र धनुषा जिल्ला अदालतलाई पठाइएको छ ।
सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले पनि त्यस कुराको पुष्टि गरेका छन् । ‘जिल्ला न्यायाधीश भट्टराईलाई सर्वोच्च अदालतमा आज काज सरुवा गरिएको हो,’ ढकालले लोकान्तरसँग भने ।
इजलास बहिष्कार गर्ने जनकपुर बारको निर्णय
यता नेपाल बार एसोसिएसन जनकपुरले पनि धनुषा जिल्ला अदालतका न्यायाधीश भट्टराईको इजलास बहिष्कार गर्ने निर्णय गरेको छ ।
अधिवक्ता अनिल सदाका अनुसार आज बसेको जनकपुर बाराको बैठकले जिल्ला न्यायाधीश भट्टराईको इजलास अनिश्चितकालका लागि बहिष्कार गर्ने निर्णय भएको छ ।
त्यसै गरी उनले गरेका सम्पूर्ण विवादित फैसलाहरू संकलन गरेर छानबिनका लागि सर्वोच्च अदालत र न्याय परिषद् सचिवालयमा पठाउने निर्णय भएको उनले लोकान्तरलाई जानकारी दिए ।
जनकपुरका पेट्रोलपम्प व्यवसायी मनोज साहलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा रंगेहात पक्राउ परेका पंकज भनिने दामोदर चौधरीसहित ३ प्रतिवादीलाई भट्टराईले सफाइ दिएका थिए ।
त्यसैगरी हत्या, बलात्कार तथा लागूऔषधका मुद्दामा समेत उनले सफाई दिएको भन्दै जनकपुर बारले उनको इजलास बहिष्कार गर्ने निर्णय गरेको छ । lokaantar







