April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

एमालेमा पार्टीभित्रैबाट अन्तर्घात गर्नेमाथि छानबिन गर्न तीन सदस्यीय कमिटी गठन

नेपालका कम्युनिस्ट पार्टी (एमाले)ले स्थानीय निर्वाचनमा पार्टीभित्रैबाट अन्तर्घात गर्नेमाथि छानबिन गर्न तीन सदस्यीय कमिटी गठन गरेको छ । उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन भएको हो ।

आइतबार पार्टी केन्द्रीय कार्यालय ललितपुर, च्यासलमा बसेको सचिवालय बैठकले तीन सदस्यीय ‘छानबिन तथा कारबाही कमिटी’ गठन गर्ने निर्णय गरेको हो । एमाले उपमहासचिव एवं प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार स्थानीय निर्वाचनमा भएको अन्तर्घातबारे सो कमिटीले उजुरी लिने, छानबिन गर्ने, कारबाहीको सिफारिसलगायतका काम गर्नेछ ।

कमिटीमा निर्वाचन विभाग प्रमुख र केन्द्रीय संगठन विभाग प्रमुख सदस्य रहनेछन् । निर्वाचन विभाग प्रमुख एवं उपमहासचिव विष्णु रिमाल र संगठन विभाग प्रमुख रहेका स्थायी कमिटीका सदस्य खगराज अधिकारी सो कमिटीको सदस्य रहेका छन् ।

पार्टीभित्रैबाट भएका अन्तर्घातका घटनाको छानबिन र कारबाहीका सिफारिस गर्न सो कमिटी गठन भएको प्रवक्ता गुरुङले बताए । एमाले स्थानीय तह निर्वाचनमा पार्टी पहिलो शक्तिका रूपमा स्थापित भएको तर अपेक्षित नतिजा नआएको निष्कर्ष निकालेको छ । पार्टीको पराजयमा पार्टीकै नेताबाट भएको अन्तर्घात मुख्य कारण रहेको एमालेको प्रारम्भिक निष्कर्ष रहेको छ ।

यसैगरी, एमालेले प्रदेश र जिल्लास्तरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । सचिवालय बैठकले सातै प्रदेश र जिल्लास्तरमा कार्यकर्ता प्रशिक्षण, निर्वाचन तयारीलगायतको काम गर्ने निर्णय गर्दै पार्टीका उपाध्यक्षलाई प्रदेशमा खटाउने निर्णय गरेको छ ।

बैठकले प्रदेश र जिल्ला कमिटीले स्थानीय तह निर्वाचनबारे समीक्षा रिपोर्ट असार मसान्तभित्र पार्टी केन्द्रीय कमिटीमा पठाइसक्न निर्देशन दिएको छ । यस्तै, चौतर्फी घेराबन्दीबीचमा पनि प्रथम शक्ति बनेको मूल सन्देश लिएर आगामी निर्वाचनमा जाने निर्णय पनि बैठकले गरेको आजको राजधानी दैनिकमा खवर छ ।

शीर्ष समाचार

धेरै पढिएको