औपचारिक भ्रमणका लागि प्रधानसेनापति प्रभुराम शर्मा लेवनानातर्फ प्रस्थान गरेका छन् । रक्षा सचिवसहित सात सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै उनी शनिवार लेवनान प्रस्थान गरेका हुन् ।

भ्रमण टोलीले द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्ने तथा विभिन्न यूएन मिसनहरुको विविध पक्ष एवं भावी योजनाबारे जानकारी लिनेछ ।प्रधानसेनापति शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा बिदाइ गरेका थिए ।
भ्रमण दलले शनिवारदेखि असार १० गतेसम्म नेपाली शान्ति सैनिकहरु तैनाथ लेवनानस्थित यूनिफिल मिसन र त्यसपछि सिरियास्थित यूएनडोफ मिसनको निरीक्षण भ्रमण गरी उक्त मिसनहरुको वस्तुस्थिति, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्था लगायत अन्य विविध पक्षहरुका बारेमा जानकारी लिने नेपाली सेनाले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानसेनापति शर्माले लेवनान, सिरिया, यूनिफिल मिसन र यूएनडोफ मिसनका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्नेछन् ।लेवनानप्रस्थान गर्नुपूर्व प्रधानसेनापति शर्मालाई जंगीअड्डामा शुक्रवार सम्मान गारत अर्पण गरिएको थियो ।
लेवनान र सिरियाको भ्रमणपछि प्रधानसेनापति शर्मा असार १३ देखि १७ सम्म ५ सदस्यीय भ्रमण दलका साथ अमेरिकाको औपचारिक भ्रमण गर्नेछन् ।
प्रधानसेनापति शर्माको भ्रमण अवधिभर बलाधिकृत रथी बालकृष्ण कार्कीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने छन् ।प्रधानसेनापतिलगायतको भ्रमण दल असार १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।







