
काठमाडौं – निषेधाज्ञा बढ्ने र सामानको अभावसँगै महङ्गो हुने डरका कारण धेरै सामान खरिद गरेर राख्ने गरेको पाइएको छ । औषधि पसलदेखि किराना पसल, सुपरमार्केटमा सामान खरिद गर्नेको भिडभाड अत्यधिक देखिन्छ । तर सरकारले बुधबार राति १२ बजेदेखि एक हप्ताको लागि मात्र निषेधाज्ञा जारी गरेकाे हाे ।
यसैबीच, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हल्लाको पछि लागेर धेरै सामान खरिद नगर्न पनि उपभोक्तालाई आग्रह गरेको छ । विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले निषेधाज्ञामा पनि सामान आपूर्ति निरन्तर भइरहने भएकाले कुनै पनि दैनिक उपभोग्य सामानको अभाव नहुने गोरखापत्र अनलाइनलाई जानकारी दिए । बजारमा कालो बजारी गर्ने र सामानको मूल्य बढाउने व्यापारीमाथि अनुगमन भइरहेको र निषेधाज्ञाको समयमा पनि बजार अनुगमन निरन्तर हुने उनकाे भनाइ छ ।
तरकारीलगायत केही सामानको मूल्य यसअघि केही बढेको भएता पनि अहिले मूल्य सामान्य अवस्थामा आएको जानकारी दिँदै सामानको मूल्यवृद्धि गर्ने जोकोही भएता पनि कारबाही गर्ने बताए। नेपाल औषधि उत्पादक सङ्घका पूर्वअध्यक्ष दीपकप्रसाद दाहाल हाल आवश्यक पर्ने औषधिको मौज्दात रहेको र बाहिरबाट पनि निर्यात भइरहेकाले औषधिको अभाव हुन्छ की भनरे डराउने अवस्था नरहेको बताउनुछन् ।
यो समयमा अलि डर मान्ने, दीर्घ रोगी भएता पनि सरकारले औषधि किन्न जानको लागि निषेध नगरेको बताउँदै कसैको गलत हल्लाको पछि नलाग्न दाहालको सुझाव छ । नेपालमा औषधि कम्पनीहरू निरन्तर रुपमा सञ्चालनमा रहेकाले निषेधाज्ञाको अवधिमा पनि औषधि उत्पादन भइरहने उनले जानकारी दिए । औषधि उत्पादन गर्दा चाहिने कच्चा पदार्थको अभाव नरहेको र बाहिरबाट आउने कच्चा पदार्थ पनि निरन्तर आपूर्ति भइरहेकाले कुनै समस्या नआउने दाहालको भनाइ रहेको छ ।
यता, साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय प्रमुख ब्रजेशकुमार झाले आफूहरूसँग आठ महिनाभन्दा बढीलाई पुग्ने नुन मौज्दात रहेको बताउनुभयो । यसैगरी, दैनिक जीवनमा प्रयोग हुने तेल, चामल, दाल, ग्यासलगायत कर्पोरेसनले बिक्री गर्दै आएका सामानको कुनै पनि अभाव नहुने विभागीय प्रमुख झा बताउनुहुन्छ । सभार गाेरखापत्र





