
काठमाडौं, हाल नेपालमा मनसुन प्रवेश नभए पनि मनसुनी प्रवृत्तिको असरले बदली र वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अबको दुई÷चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जनाएको छ ।
महाशाखाका मौसमविद् हिरा भट्टराईले सञ्चारमाध्यमलाई जानकारी दिए अनुसार अबको केही दिनभित्रै देशको पूर्वी भेगको मेची अञ्चल आसपास क्षेत्रबाट मनसुन सुरु हुनेछ ।
उनले भनेका छन्, “अहिले प्रि मनसुन र मनसुनको सुरुआती चरणको ट्रान्जिक्सन फेजमा रहेको छ, अबको दुई÷चार दिनभित्रै नेपालमा मनसुन भित्रिनेछ ।”
प्रदेश १, मधेस र बागमती प्रदेशका कतिपय स्थानमा आज र भोलि वर्षा भए पनि पश्चिमी भेगमा भने वर्षाको सम्भावना नदेखिएको मौसमविद् भट्टराईको भनाई छ । नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने गर्दछ । देशको पूर्वी भेगबाट मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुन्छ । जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली क्षेत्रमा मनसुनको अवधि भनिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० वर्षा हुने गर्दछ ।







