
काठमाडौं, प्रतिनिधिसभाका सांसदले मुलुकमा भैरहेको मूल्यवृद्धिबारे अनुगमन गरी कारण पत्ता लगाएर मूल्यवृद्धि अन्त्य गर्नुपर्ने माग गरेका छन् ।
सांसद कृष्णभक्त पोखरेलले शुक्रबार प्रतिनिधिसभाको बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै प्रस्तावको समर्थन गर्दै मूल्यवृद्धिले सर्वसाधारण जनतालाई आफ्नो दैनिकी चलाउनसमेत समस्या भएको बताएका हुन् ।
यसैगरी सांसद पुष्पा भुसालले आयातित वस्तुलाई न्यून गर्दै निर्यातमा जोड दिनुपर्ने बताइन् । सांसद डिला सङ्ग्रौलाले दैनिक उपभोग्य वस्तुको दिनप्रतिदिन बढ्दै गएको मूल्यवृद्धिका बारेमा सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद लालबाबु पण्डितले सरकारले बजार अनुगमन नगरेको र बजार अनुगमन नहुँदा जनता मारमा परेको बताए । सांसद नारायणप्रसाद खतिवडाले सरकारले मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले योजना बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । सांसद शेरबहादुर तामाङले भने, “खानेतेलको मूल्यवृद्धि घटाएको खण्डमा मात्रै समग्र मूल्यवृद्धिका बारेमा छलफल गर्न सकिन्छ ।”
प्रस्तावमा भनिएको छ, “जनताको आधारभूत आवश्यकता परिपूर्ति गर्ने कल्याणकारी राज्यको प्राथमिकता र सर्वाधिक महत्वपूर्ण दायित्वको सुनिश्चितता गर्न तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउने स्पष्ट खाका पेश गर्न सरकारलाई झकझक्याउन संसद्ले पहल गर्न अत्यावश्यक भएकाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरिएको छ ।”
सरकारले मुद्रास्फितिलाई रोक्नुको सट्टा दिनानुदिन खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेललगायतका जनताको जीवनसँग जोडिएका बस्तुको मूल्य स्वचालितरुपमा १५ दिनमा एकपटक समायोजन गर्नसक्ने प्रावधानविपरीत बढाएको सचेतक भट्टराईको भनाइ थियो ।







