
दाङको घोराही उपमहानगरपालिकामा तीन दलीय गठबन्धन भएपछि नतिजा कसको पोल्टामा जाने हो भन्ने विषय प्रारम्भिक चरणमै महत्वका हेरिएको थियो। २०७४ सालको चुनावमा मेयर उपमेयर दुबै नेकपा एमालेले जितेको थियो।
यस चुनावमा एमाले मेयरका उम्मेदवार नरुलाल चौधरी र उपमेयर हुमा डिसीविरुद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा तीन दलीय गठबन्धनबाट मेयरमा माओवादीका हेमराज शर्मा र उपमेयरमा काँग्रेसका भुपबहादुर डाँगी उम्मेदवार भएपछि चासो बढ्ता भएको हो ।
तीन दलीय गठबन्धनलाई पल्टाउँदै मेयरमा चौधरी र उपमेयरमा डिसी निर्वाचित भएपछि समीक्षाको विषय भएको हो। एमाले मेयर र उपमेयरले तीन दलका संयूक्त उम्मेदवारलाई फराकिलो मत अन्तरले पराजित गरेपछि धेरैलाई अचम्मित पारेका छन्।
गठबन्धनका मेयरका उम्मेदवार शर्मालाई ५६६० मतले पछि पार्दै एमालेका चौधरीले ३१७८० मत प्राप्त गरी विजयी भएका छन्। गठबन्धनबाट शर्माले २६६६८ मत र गठबन्धनबाट उपमेयर काँग्रेसका डाँगीले ३०३५४ मत पाए। एमालेकी डिसीले ३०४०३ मत ल्याएर विजयी भइन। एमालेकी डिसीसँग काँग्रेसका डाँगी जम्मा ४९ मतले पराजित भए।
गठबन्धन भए लगत्तै शर्मा र डाँगी २०७४ सालमा दोस्रो र तेस्रो भएका दल मिलेर चुनाव लड्दा जित्नेमा ढुक्क थिए। त्यतिबेला काँग्रेसले १७४८४ मत र माओवादी १२०८२ मत ल्याएको थियो। कुल १९ वडामा काँग्रेस १० र माओवादीले ३ वडा अध्यक्ष जितेको थियो भने एमाले ६ वडा अध्यक्ष मात्रै जितेको थियो।
त्यो सबै मतलाई समेत जोडेर गठबन्धन एमालेलाई सजिलै जित्ने उच्च मनोवलका साथ चुनावी मैदानमा उत्रिएकाे थियाे। तर, गठबन्धनको मत माओवादी केन्द्र र काँग्रेसको अन्तरिक गुटमा फस्दा गठबन्धन पराजित भए।







