
काठमाडौं, पूर्वनिर्धारित योजनाअनुसार मतगणना कार्य सम्पन्न नहुने निर्वाचन आयोगले निष्कर्ष निकालेको छ । जेठ ५ गतेअघि नै सबै स्थानीय तहको मतगणना सम्पन्न गर्ने योजना बनाए पनि यो अनुसार गणना सम्पन्न नहुने निष्कर्ष निकालेको हो ।
अनावश्यक विषय लिएर मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नाराबाजी गर्ने कार्य भएको भन्दै मतगणनामा ढिलाइ भएको आयोगको भनाइ छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतगणना कार्य जारी रहेको अवस्थामा मतगणना कार्यमा खटिएका कर्मचारी, राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिहरूबाट निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा तात्विक असर नपर्ने सामान्य मानवीय त्रुटीका विषयलाई अनावश्यक रुपमा उचाली विवादको विषय बनाई मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नाराबाजी गर्ने र समग्र मतगणना कार्यलाई ढिलाई गर्ने गरिएको प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’
यसैगरी मतगणनाका लागि जनशक्ति बनाउन आग्रह गर्दै आयोगले भनेको छ, ‘जिल्लामा रहेको जनशक्ति व्यवस्थापन समन्वय समितिसँग समन्वय गरी आवश्यक जनशक्ति व्यवस्थापन गर्ने, उपलब्ध भएसम्म नेपाल सरकार तथा प्रदेश सरकारका कर्मचारीहरुलाई मतगणना कार्यमा प्राथमिकताकासाथ खटाउने, स्थानको उपलब्धता अनुसार सकेसम्म बढी मतगणना टोली कायम गरी मतगणना गर्ने, मतगणना कार्यमा खटिएका कर्मचारीहरुले पदीय जिम्मेवारी तथा निर्वाचनको स्वच्छता र निष्पक्षतालाई दृष्टिगत गरी राम्रोसँग मतगणना निर्देशिका (संशोधनसहित) को अध्ययन गरी मतगणना कार्य छिटोभन्दा छिटो सम्पन्न गर्न राजनीतिक दल, उम्मेदवार तथा उम्मेदवारहरूका प्रतिनिधिहरू व्यवस्थित र अनुशासित भएर छिटो सम्पन्न गर्ने कार्यमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई आवश्यक सहयोग र सहजीकरण गरी मतगणना कार्यलाई अझ व्यवस्थित रुपले अगाडि बढाई तोकिएको समयभित्रै सम्पन्न गर्न गराउन सबै सरोकारवालासँग आयोग आग्रह गर्दछ । ’







