
काठमाडौं, राष्ट्रकवि माधव प्रसाद घिमिरेको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । उहाँलाई दिने सम्मानका बारेमा निर्णय गर्न आज विहान मन्त्रीपरिषद्को बैठक पनि बस्न लागेको जनाइएको छ ।
पारिवारजनको सल्लाह अनुसार उहाँको अन्त्येष्टिको कार्यक्रम सरकारले तय गर्ने उहाँका निकटस्थहरुले जनाएका छन् । कवि गीतकार नगेन्द्र थापाको पहलमा २०६० सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा, सञ्चारमन्त्री कमल थापाको सक्रियतामा तत्कालीन राजा ज्ञानेन्द्रबाट उहाँलाई राष्ट्रकविको उपाधि दिइएको थियो ।
उहाँ नेपाली सेनाको मानार्थ सहायक रथीसमेत भएकाले उनलाई नेपाली सेनाले पनि सम्मान दिने भएको छ । सैनिक अधिकारीलाई सरह नै अन्तिम सलामी दिने तयारी भएको सेनाले जनाएको छ । सेनाले उहाँको अन्तिम संस्कारको सहजीकरणसमेत गर्ने नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताएका छन ।





