
काठमाडौं, आज भाद्र ३ गते कुशे औंसि अर्थात् पुजनिय बुवालाई सम्मानका प्रकट गर्दै मनाइने पर्व हो भने आजको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ ।
आजको दिन टाढिएर बसेका छोराछोरी र साथमै भएका छोराछोरीले बुवालाई भेटेर मिठा परिकाए खुवाउने, उपहार, माया दिने र मुल्यवान आशीर्वाद ग्रहण चलन छ । बुवालाई भेट्न असमर्थ हुनेहरुले टेलिफोन संवादका साथै भिडियो कलमार्फत बुवाको मुख हेर्ने गर्दछन ।
‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीहरूले आफ्ना बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने विश्वास छ ।
बुवा नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बुवाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । यस अवसरमा काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बुवाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले मन्दिर क्षेत्र पूर्णरुपमा सिल गरिएको छ ।
भाद्र कृष्ण औैंसीका दिन वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्राउने पनि गर्दछन् ।





