
चितवन, चितवनको एउटै फार्मममा एक लाख १६ हजार कुखुरामा बर्डफ्लु संक्रमण देखिएको छ । पूर्वी चितवनको खैरहनीमा रहेको अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्म प्रालिको एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि भएको हो ।
फार्मका सञ्चालक सुमा अर्यालका अनुसार फुल अटोमेसन क्लोज हाउसमा पालिएका लेयर्स कुखुरामा सङ्क्रमण देखिएको हो । बर्डफ्लु देखिएसँगै कुखुरा, अण्डा, दाना, क्रेट, कार्टुनलगायतका सामग्री नष्ट गर्न थालिएको छ ।
बर्डफ्लुका कारण प्रत्यक्ष, अप्रत्यक्षरूपमा २५ करोड हाराहारी नोक्सान हुने देखिएको उनको भनाइ छ । यसअघि खैरहनी नगरपालिका–१ ज्यामिरेमा रहेको सो फार्ममा गरिएको द्रुर्त परीक्षणमा सङ्क्रमण देखिएपछि थप परीक्षणका लागि नमूना काठमाडौँ पठाइएको थियो । परीक्षणमा बर्डफ्लु प्रमाणित भएपछि हाल कुखुरा नष्ट गर्न थालिएको छ ।
भेटेनेरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र भरतपुरका प्रमुख सुशील केसीका अनुसार देशभरमा बर्डफ्लुका कारण सबैभन्दा बढी नोक्सान चितवनमा भएको छ ।
यसैगरी चितवनमा यसबाहेक बर्डफ्लु देखिएका फार्ममा दुई लाख ३३ हजार ३१२ लेयर्स कुखुरा मारिएको जनाएको छ । केन्द्रका सूचना अधिकारी डा प्रभाश न्यौपानेका अनुसार ब्रोइलर ६४६, कडकनाथ ८९६, हाँस ३५ वटा नष्ट गरिसकिएको छ । जिल्लामा यसबाहेक ३१ वटा पोल्ट्री फार्ममा बर्डफ्लु देखापरेको छ ।







