
कास्की, पोखरा महानगरपालिका–१६ का ८७ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान १०ः४० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिएका छन ।
उनका अनुसार गत साउन ३२ गते उच्च ज्वरो तथा स्वासप्रस्वासमा समस्या आई उनी अस्पतालको इमर्जेन्सी विभागमा उपचारका लागि आएका थिए । कोरोना पुष्टि भएपछि उनलाई सोमबार अस्पतालको कोभिड उपचार केन्द्रमा राखी उपचार भइरहेकामा मृत्यु भएको अस्पतालले जनाएको छ । ती पुुरुषमा कोरोनासहित मधुमेह, प्रेसरलगायतका रोगको समस्या रहेको बताइन्छ । हालसम्म पश्चिमाञ्चल अस्पतालमा चार जना सङ्क्रमितको मृत्यु भएको छ ।
त्यसैगरी तनहुँको व्यास नगरपालिका–१ का ५० वर्षीया महिलाको पोखरा स्थित कास्की सेवा हस्पिटलमा उपचारको क्रममा गएराति ११ः३५ बजे मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिएका छन ।





