
एक छात्रामाथि शिक्षकले यौन दुर्व्यवहार गरेको आरोप लागेर विवाद चर्किँदा तनावग्रस्त बनेको मोरङको लेटाङमा एक महिला प्रहरीको मृत्यु भएपछि कम्तीमा आठ जनालाई पक्राउ गरिएको अधिकारीहरूले बताएका छन्।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सोमवार बिहानैदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएपछि प्रहरीले आइतवार साँझ भएको घटनामा संलग्न भएको आशङ्कामा सन्दिग्ध मानिसहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए।
एउटा कार्यक्रममा भाग लिन मोरङको सुन्दर हरैँचा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी हत्याको घटनाको छानबिन गरी दोषीलाई कारबाही गरिने बताएका छन्।
घटनामा संलग्न भएको आरोपमा अहिलेसम्म आठ जनालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
कार्यालयका अनुसार घटनामा मारिएकी प्रहरीको शरीरका खत र कस्ता हतियार प्रयोग भएको हो भन्ने विषय पनि अनुसन्धान भइरहेको मोरङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताए।
प्रहरी जवान मारिएको घटनामा नियन्त्रणमा लिइएका मानिसहरू संलग्न प्रमाणित भए कर्तव्य ज्यान मुद्दामा सजायको माग गर्दै अदालतमा पेस गर्ने तयारी मोरङ प्रहरीको छ।
छात्रामाथ दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएर उनीमाथि कानुनी कारबाहीको प्रक्रिया सुरु गरिसकेको मुकारुङले बताए।
कक्षा ७ मा पढ्ने छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङ लैजाने प्रयास गर्दा एक महिला प्रहरीको आइतवार ज्यान गएको थियो।भिडले आक्रमण गरेपछि प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको प्रहरी प्रवक्ता मुकारुङले बताए।
दिनभरि विद्यालय परिसरभित्रै रहेका नगरपालिकाका जनप्रतिनिधि तथा ती आरोपित शिक्षकलाई ‘भिडबाट निकालेर बाहिर ल्याउने क्रममा’ उक्त घटना भएको प्रहरीको भनाइ छ।
कर्फ्यूपछि लेटाङ सुनसान
जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार शिक्षा विकास माध्यमिक विद्यालय लेटाङकी ती छात्रालाई दुर्व्यवहार भएको घटनालाई लिएर अभिभावक र विद्यार्थीहरूले शिक्षकलाई बन्धक बनाएका थिए।
लेटाङ
त्यसबाट विद्यालयमा असहज परिस्थिति उत्पन्न भएपछि दोषीउपर कानुनी कारबाही गरिने भन्दै सम्झाउन बुझाउन गएको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिन सकेन।
भिडबाट आगजनी, तोडफोड र ढुङ्गामुढा पनि भएको र एक प्रहरी समेत मारिएपछि कर्फ्यूको घोषणा गरिएको थियो।
महिला प्रहरी जवान श्रेष्ठको मृत्यु भएपछि स्थिति अझ तनावग्रस्त बन्ने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले घटनास्थल तथा आसपासका स्थानमा बिहान ७ बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ।







