
काठमाडौं, नेपाल भरमा हालसम्म चारलाख १९ हजार ५३८ जना मास्क नलगाई बाहिर निस्कनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई प्रहरीले केही बेर सडकमा उम्भाउने, र मास्कको महत्वको बारेमा बुझाउने र अनिवार्य रुपमा मास्क लगाएर मात्रै घर बाहिर निस्कनको लागि सम्झाउने काम भएकाे छ । त्यती हुँदा पनि अटेर गरेमा संक्रामक रोग निवारण ऐन अन्तरगत कारवाही गरेकाे छ ।
नेपालका ७७ जिल्लामा जिल्ला प्रशासन कार्यालय मार्फत मास्क प्रयोग नगरि हिड्नेलाई कारवाही गरिने प्रकृया अघि बढाएको गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिएका छन । साउन ३० गतेसम्ममा नेपालका ७७ जिल्लामा सम्म चारलाख १९ हजार ५३८ जना मास्क नलगाई बाहिर आएका मध्ये तीन लाख ५४ हजार ८२४ जनालाई मास्क लगाएर हिड्न सम्झाएर पठाएको र उनीहरुलाई ३९ हजार ५०७ थान मास्क समेत वितरण गरेको प्रवक्ता बुढाले बताएका छन ।
२५ हजार २०७ जना व्यक्तिहरु मास्क नलगाई हिडेकोमा प्रतिव्यक्ति एक सय रुपियाँको दरले २५ लाख २० हजार सात सय रुपिया राजस्व संकलन भएको प्रवक्ता बुढाले बताए । अत्यावश्यक काम बाहेक काठमाडौ उपत्यका भित्रने खोज्ने २७ हजार ११८ वटा सवारी साधनलाई काठमाडौ भित्रने खोज्ने नाकाबाटै फर्काइएको उनले स्पष्ट पारेका छन ।





