April 2, 2023, Sunday
२०७९ चैत्र १९, आईतवार

के रुसले रासायनिक अस्त्र प्रयोग गर्न सक्छ ?

युक्रेनले रासायनिक हतियार विकास गर्ने योजना बनाएको दाबी गर्दै त्यसबारे छलफल गर्नका लागि शुक्रवार रुसले संयुक्त राष्ट्रसङ्घको विशेष आपत्कालीन बैठकको माग गरेको छ।

तर उक्त दाबीलाई ”फ्ल्स फ्लाग” (विपक्षीलाई आरोप लगाउने उद्देश्यसहित बनाइएको राजनीतिक वा सैन्य कारबाही) भन्दै युक्रेन र अमेरिकाले आपत्ति जनाएका छन्।

उनीहरूले यो युक्रेनमा रासायनिक अस्त्र प्रयोग गर्ने औचित्य पुष्टि गर्न गरेको सङ्केत गरेका छन्।युक्रेनमा रासायनिक प्रयोगशाला स्थापना गरिएको छ जहाँ कोभिडजस्ता रोगहरूबाट सर्वसाधारणहरूलाई जोगाउनका लागि वैज्ञानिकहरूले काम गरिरहेको सरकारले जनाएको छ।

युद्ध चलिरहेका कारण विश्व स्वास्थ्य सङ्गठनले युक्रेनलाई प्रयोगशालामा रहेका सबै खतरनाक सूक्ष्म जीवाणु नष्ट गर्न भनेको छ।

रासायनिक अस्त्र के हुन ?

रासायनिक हतियारहरू त्यस्ता हतियार हुन् जसले विषाक्त पदार्थ वा शरीरको प्रणालीमा आक्रमण गर्न सक्ने रासायनिक पदार्थहरू बोक्छन्।

रासायनिक अस्त्रका विभिन्न वर्ग छन्।

कार्बन अक्सिक्लोराईड भनिने विषालु ग्यासले फोक्सो अनि श्वासप्रश्वास प्रणालीमा असर गर्छ।

त्यस्तै ‘मस्टर्ड ग्याँस’ जस्ता ‘ब्लिस्टर एजेन्ट’ले छाला पोल्ने अनि मानिसहरूको दृष्टिविहीन बनाउन सक्छन्।

र अर्को सबैभन्दा घातक वर्ग हो: स्नायु प्रणालीमा असर पर्ने तत्त्व, जसले मस्तिष्क र मांसपेशीबीचको सञ्चारमा समस्या पार्छ। यसको एउटा सानो थोपासमेत घातक हुन्छ।

भीएक्स भनिने नर्भ एजेन्ट अर्थात् स्नायु प्रणालीमा असर पार्ने तत्त्वको ०.५ एमजी मात्रा वयस्क मानिसलाई मार्न काफी हुन्छ।

यस्ता रासायनिक तत्त्व युद्धमा प्रयोग हुने गोलाबारी, बम अनि क्षेप्यास्त्रमा राख्न सकिन्छ।

तर रुससहित निकै धेरै राष्ट्रहरूले १९९७ को रासायनिकअस्त्रसम्बन्धी महासन्धिमा हस्ताक्षर गरेका छन्।

रासायनिक अस्त्र सम्बन्धी निगरानी समूह अर्गनाइजेसन फर द प्रोहीभीसन अफ केमिकल वेपन्स ओपीसीडब्लू नेदरल्यान्ड्सको हेगमा छ।

उक्त निकायले रासायनिक अस्त्रको गैरकानुनी प्रयोगबारे निगरानी गर्नुका साथै यसको विकास नियन्त्रण गर्ने प्रयास गर्छ।

पहिलो विश्व युद्ध, सन् १९८० को दशकमा भएका इराक-इरान युद्धमा यस्ता हतियार प्रयोग भएका थिए।

पछिल्लो समय सिरियाली सरकारले विद्रोही फौजविरुद्ध रासायनिक अस्त्र प्रयोग गरेको थियो।

रुसले सन् २०१७ मा आफूसँग रहेको रासायनिक अस्त्रको अन्तिम मौज्दात नष्ट गरेको जनाएको छ तर मस्कोमाथि कम्तीमा दुई वटा जैविक आक्रमणको आरोप छ। bbc

शीर्ष समाचार

धेरै पढिएको