प्रचण्डको गुनासो: ‘पार्टीभित्र असाध्यै दु:खी पात्र बनेको छु’

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र आफू असाध्यै दु:ख भोगेको बताएका छन् ।
शनिबार नुवाकोटमा दिवंगत नेता पोष्टबहादुर बोगटीको शालिक अनावरण गर्दै प्रचण्डले त्यसको संकेत गरेका हुन् । दुःख भोगेको कुरा बाहिर ल्याउन उनले बोगटीको सहारा लिएका थिए ।
उनले भने, ‘उहाँ (बोगटी)को निधनले नेतृत्वको हिसाबले मलाई ठूलो क्षति भयो। उहाँ नहुँदा पार्टीभित्र असाध्यै दुःख भोग्ने दुखी पात्र बन्न पुगेको छ। यस्तो अवस्थामा अपिल गर्न चाहन्छु, यो दु:खको बेलामा पोस्टबहादुरजस्तै सहज, सरल ढंगले आपसमा अन्तर्क्रिया गरेर पार्टी एकताबद्ध बनाउन पहल गरौं ।’
यसैगरी डा. बाबुराम भट्टराई र मोहन वैद्य किरणले आफूलाई पार्टीभित्र सताएको उनको भनाई छ । ‘डाक्टर र वैद्यको हालत अहिले के छ? डाक्टर र वैद्यले बेला-बेला सताउँथे। तिनीहरुको सातो खाने पोस्टबहादुर नै थिए। उहाँको निधनले आसाधारण क्षति भयो ।’
बोगटीले संविधान बनाउन धेरै भूमिका खेलेको बताउँदै उनले भने, ‘संविधानसभामा उहाँले संविधान बनाउन धेरै भूमिका खेल्नुभयो। सबैको सहयोग र सहमति जुटाउनसक्ने, सम्वाद गर्ने क्षमता उहाँमा थियो ।’
प्रतिकृया दिनुहोस्