November 28, 2020, Saturday
२०७७ मंसिर १३, शनिबार

सुदूरपश्चिममा ओल्के सङ्क्रान्ति मनाइँदै

बैतडी, आज भदौ १ गते, ओल्के सङ्क्रान्ति बैतडीसहित सुदूरपश्चिममा हर्षोल्लासका साथ योे पर्व मनाइँदैछ । ओल्को भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ ।

बिहानै नुहाइधुवाई गरी विभिन्न परिकार बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आजका दिन आफन्तलाई ओल्कोअर्थात् उपहार दिने पनि गरिन्छ । वर्षापछि सङ्कटबाट बचेको र नवजीवन प्राप्त भएको खुशियालीमा यस क्षेत्रमा ओल्को मनाउने प्रचलन रहेको पण्डित दयाकृष्ण पन्तले बताएका छन ।

यो दिन ओल्कोका रूपमा फलफूल, सागपात, अन्न, दूध, दही, घ्यू, गूड र पक्वान्न आदि मान्यजन र आफन्त कहाँ लगेर भेटघाट गर्न जाने चलन छ । धेरैजसो ठाउँमा मन्दिरमा अन्न चढाई ओल्को हाल्दछन् । यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई यस भेगका बासिन्दाको मौलिक पर्वका रूपमा पनि रहिआएको छ । यसलाई सिंह सङ्क्रान्ति पनि भन्ने गरिएको छ । यो पर्व नेपालको सुदूरपश्चिमका साथै भारतको कुमाउँ गढवालतिर पनि मनाइन्छ ।


ओल्के सङ्क्रान्तिताका सतरती (सातरातको झरी) पर्दछ । यो समयमा आकाशमा तारा देखिएमा वा वन चर्न गएका भैँसीका सिङ ओभानो भएमा अनिकाल पर्ने सम्भावना र ऋतुमति धर्तीले नवीन सिर्जना गर्न थाल्ने विश्वास रहिआएको छ । प्रकृतिमा नयाँ नयाँ किसिमका वनस्पति र किरा फट्याङ्ग्रा देखिनुका साथै धुलोधुवाँ र फोहोर पखालिन्छ र पाखा पखेरामा नवधार (पानीका नयाँ मुहान) फुट्न थाल्ने पनि विश्वास रहेको छ ।


शीर्ष समाचार

धेरै पढिएको