अन्तालिया कूटनीतिकमा भाग लिन परराष्ट्रमन्त्री खड्का टर्की प्रस्थान

काठमाडौं, यहीँ फागुन २७ देखि २९ गतेसम्म टर्कीको अन्तालियामा आयोजना हुने अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री डा नारायण खड्का मङ्गलबार राति त्यसतर्फ प्रस्थान गरेका छन् ।
टर्कीका विदेशमन्त्री मेभलुट चाभुसोउलुको निमन्त्रणामा उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । परराष्ट्रमन्त्रीले यहीँ फागुन २८ गते मञ्चमा ५० भन्दा बढी देशका परराष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञहरुको सहभागितामा ‘लोकतान्त्रिक शासन र सुरक्षा’ तथा ‘दिगो क्षेत्रीय विकासको लागि नयाँ एशिया’ विषयमा हुने दुई बेग्लाबेग्लै सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
यसैगरी मञ्चको यस वर्षकोे विषय ‘रिकोडिङ डिप्लोमेसी’ रहेको छ । मञ्चमा विद्यमान क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू र तिनको समाधानमा केन्द्रित भएर छलफल हुनेछ ।
परराष्ट्र मन्त्रालयका अनुसार आज भने मन्त्री खड्काले गैरआवासीय नेपाली सङ्घ टर्कीका पदाधिकारी र इस्तानबुलमा रहेका नेपाली उद्यमीसँग व्यवसायका अवसरहरू र चुनौतीहरूका साथै नेपाली समुदायले सामना गर्नुपरेका समस्याबारे छलफल गर्ने कार्यक्रम रहेको छ ।
प्रतिकृया दिनुहोस्