महिलामाथि हुने विभेदलाई जरैदेखि अन्त्य गर्न राष्ट्रपतिको जोड

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि अन्त्य गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिएकी छन् । आज ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले अन्धविश्वास र कुप्रथालाई अन्त्य गर्नुपर्ने तथा महिला सशक्तीकरण, सहभागिता र समानताका विषयमा महिला र पुरुष दुवैको समान र सक्रिय भूमिका अत्यावश्यक रहेको बताएकी हुन् ।
यसैगरी अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चित गर्ने यात्रामा निरन्तर लागिरहन हामी सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुन सकोस् भन्ने शुभकामना राष्ट्रपतिले व्यक्त गरेकी छन्।
राष्ट्रपतिले सन्देशमा भनेकी छन्, “महिला सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न हामीले संविधानमार्फत आधारभूत व्यवस्थाहरू गरी विभिन्न कानूनसमेत अभ्यासमा ल्याएका छौँ । फलतः मुलुकका तीनै तहका सरकार, संसद् र नीति निर्माणका निकायमा महिलाको नेतृत्वदायी भूमिका सुदृढ भएको छ । पछिल्लो समयमा लैङ्गिक समानताका विभिन्न सूचकहरूमा नेपालले प्रगति गर्दै आएको देखिएकाले हाम्रा प्रयासहरू परिणाममुखी हुने चरणमा छन् भन्न सकिन्छ । यसबाट नेपाली महिलाहरूको प्रतिष्ठा क्रमशः अभिवृद्धि हुँदै गएको छ भन्ने मलाई लाग्दछ ।”
प्रतिकृया दिनुहोस्