
चितवन, कोरोना रोग उपचारको ‘हब’ अस्पताल भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्टसहित चार चिकित्सक र एक स्वस्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । यससँगै अस्पतालमा नियमित उपचारमा समस्या देखिएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारी र स्त्री तथा प्रसूतिरोग विभाग प्रमुख डा सुनिलमणि पोखरेललाई कोरोना सङ्क्रमण देखिएको छ । आकस्मिक कक्षका एक चिकित्सक र एक स्वास्थ्यकर्मीलाई पनि कोरोना सङ्क्रमण देखिएको उहाँले जानकारी दिएका छन । सोही अस्पतालमा आवासीय चिकित्सकका रूपमा काम गरेर शनिबार मात्र काठमाडौँ फर्किएका एक चिकित्सकमा पनि कोरोना देखिएको छ ।
काठमाडौँको प्रसूतिगृहपछि सबैभन्दा बढी प्रसूति गराउने अस्पताल भरतपुर अस्पताल हो । प्रसूति विभागका प्रमुखलाई कोरोना सङ्क्रमण देखिएपछि अन्य स्वास्थ्यकर्मी र बिरामीको कन्ट्याक्ट टे«सिङ गरिँदै छ । तीन दिनअघि गरिएको परीक्षणमा सोही अस्पतालको सघन उपचार कक्षमा कार्यरत एक चिकित्सक र आकस्मिक कक्षमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना देखिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिएका छन । एजेन्सी





