January 26, 2023, Thursday
२०७९ माघ १३, शुक्रबार

देउवा र ओलीबीचको भेटवार्ता सकियो,एमसीसीको विषयमा छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीचको भेटवार्ता सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा दुई शीर्ष नेताबीच एमसीसीसहित संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ । ‘प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच एमसीसीसहितको विषयमा छलफल भएको छ ।

दुई शीर्ष नेताबीचको भेटवार्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस महामन्त्री ईश्वर पोखरेल र एमालेसंसदीय दलका उपनेता सुवास नेम्वाङ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहभागी थिए । एमसीसीमाथि छलफल गर्नेगरी बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएपछि कांग्रेस र एमालेका शीर्ष नेताबीच भेटवार्ता भएको हो ।

पछिल्लो समय एमसीसीलाई लिएर सत्ता गठबन्धनमा सहमति नजुटेपछि प्रधानमन्त्री देउवाले एमालेको साथ लिन खोजेका छन् । आज भएको छलफलमा एमसीसी पास गराउनेगरि सहमति भएको स्रोतको दाबी छ । एमालेले एमसीसी पास गराउनको लागि सभामुख अग्निप्रसाद सापकोटालाई हटाउनुपर्ने शर्त राखेको छ ।

एमसीसीलाई लिएर सभामुखको भूमिका सकारात्मक नभएकोले तत्काल उनलाई हटाउनुपर्ने एमालेको प्रस्ताव छ । यसमा कांग्रेस पनि सहमत भएको बुझिएको छ । सभामुख हटाउनको लागि जसपाको बाबुराम भट्टराई पक्ष र लोकतान्त्रिक समाजवादी पार्टीले पनि साथ दिने बुझिएको छ।

त्यस्तै, एमालेले तत्काल सरकारमा सहकार्य नगरेपछि आगामी जेठ १५ गतेको बजेटलगत्तै चुनावी सरकारमा भने सहभागिता जनाउनेबारे सहमति जनाएको छ । प्रदेशमा भने एमालेले ४ वटा प्रदेशमा सरकारको नेतृत्व गर्नुपर्ने प्रस्ताव राखेको छ ।

शीर्ष समाचार

धेरै पढिएको