
काठमाडौँ, काठमाडौँ महानगरपालिका क्षेत्रभित्र झन्डै आठ सय जनामा कोरोना सङ्क्रमण देखिएको छ । यसैगरी हालसम्म चार जनाको निधन हुनुका साथै एक हजार ५५४ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ ।
हालसम्म महानगरका ३३ वडामध्ये वडा २ मा मात्रै कोरोना सङ्क्रमित भेटिएका छैनन् । कन्ट्याक्ट ट्रेसिङ गरिएकामध्ये ५८ जनामा सङ्क्रमण पाइएको छ । महानगरपालिकाले साउन २९ गतेसम्म कोरोना परीक्षणको नतिजा आएको र त्यसपछि गरिएका परीक्षणका लागि पठाइएका व्यक्तिहरूको नतिजा आउनै बाँकी रहेको जनाएको छ ।
जनस्वास्थ्य महाशाखाका वरिष्ठ कविराज निरीक्षक ज्ञानबहादुर ओलीका अनुसार, “यो सङ्ख्यामा केही तलमाथि हुन्छ । किनभने ठूला अस्पतालको विवरण महानगरमा आएको छैन, ती अस्पतालले पनि महानगरमा बसोबास गर्नेहरूको परीक्षण र उपचार गर्नुभएको छ ।”
उनका अनुसार सर्वोच्च अदालत, नेपाल प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका कार्यालयमा परीक्षण गरिएको छ । यसरी गरिएका परीक्षणमध्ये केहीको सङ्ख्या महानगरलाई उपलब्ध गराइएको छ भने केहीको सङ्ख्या प्राप्त हुन सकेको छैन । जसले गर्दा सङ्ख्यामा केही परिवर्तन हुनसक्छ ।





