
सिन्धुपाल्चोक, कोरोना भाइरस संक्रमण फैलन नदिनका लागि सिन्धुपाल्चोकमा भदौ १ गतेबाट फेरि लकडाउन हुने भएको छ । आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति को वैठकले एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।
कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनुका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाईका साथ लागू गराइने निर्णय भएको छ ।
यो सँगै भदौ १ देखि कुनै पनि व्यक्ति अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन पाउने छैनन् । त्यस्तै, सार्वजनिक सवारी साधन बन्द हुने छ । सुरक्षाकर्मी, स्वास्थ्यका कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन् ।


त्यस्तै बैंक, गैर सरकारी कार्यालय आवश्यक सेवा प्रदान गर्न दिनको ११ देखि २ बजेसम्म सञ्चालन गर्न दिइनेसमेत निर्णय भएको छ । जिल्लाका केही स्थानीय तहमा समेत कोभिड –१९ का संक्रमित देखिएको र जिल्लामा संक्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय भएको हो ।





