
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीमा जारी विवाद समाधानका लागि कार्यदल गठन गरिएपछि फेरी अर्को नयाँ विवाद देखा परेको छ । हिजो अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विवाद समाधान गर्न महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गर्ने सहमति भएकोे थियो ।
उक्त कार्यदलले शनिबारदेखि काम सुरु समेत गरिसकेको छ । तर कार्यदलको कार्यदेश प्रष्ट नभएको र कार्यदल गठनको आवश्यकता किन पर्यो भनेर पार्टीका वरिष्ठ नेता तथा सचिवालय सदस्यहरुले प्रश्न उठाएका छन् । वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डलाई प्रश्न उठाएका हुन् ।
शनिबार बिहान प्रचण्ड निवास खुमल्टारमा चारजना नेताहहरुको भेला बसेको थियो । भेलामा वरिष्ठ नेताद्वय खनाल, नेपाल र प्रवक्ता श्रेष्ठले कार्यदलभन्दा पनि सचिवालयको बैठक डाक्न माग गरेको बताइएको छ ।
शुक्रबार अध्यक्षद्वयले महासचिव पौडेलको नेतृत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, शङ्कर पोखरेल, जनार्दन शर्मा, फम्पा भुसाल सदस्य रहेकोको कार्यदल बनाएको थियो । कार्यदललाई पार्टीभित्रको विवादको चुरो पहिचान गरेर समाधानको उपायसहितको प्रतिवेदन अध्यक्षद्धयलाई पेश गर्न भनिएको छ ।पार्टीभित्रको विवाद समाधान गर्न लिखित सुझाव दिन भनिए पनि इतरसमूहले सचिवालयले बसेर कार्यदललाई काम दिनुपर्ने सर्त अघि सारेको हो ।
एजेन्सी






