
काठमाडौं, दुर्घटनामा परेका, विविध रोगव्याधि लागेका र तागत नभएका कारण बसेका ठाउँबाट उठ्न नसक्ने असहाय गाईबाच्छा बचाउन विशेष उपकरणको प्रयोग हुन थालेको छ । विभिन्न समस्याका कारण जीवन जोखिममा परेका गाईबाच्छा सामान्य तरिकाबाट जोगाउन असम्भव हुन थालेपछि उपकरण प्रयोगमा ल्याइएको छाडा गाईबाच्छ संरक्षण अभियानका अभियानकर्मी उत्तम पुडासैनीले राससलाई जानकारी दिएका छन ।
आफ्नै शरीर भारी भइसकेका अवस्थामा त्यस्ता अधिकांश गौप्राणी मर्न थालेपछि अभियानकर्मी भगवान् पुडासैनीको विशेष निगरानी र पहलमा अशक्त गाईबाच्छालाई उभ्याउन सक्ने एवं उठाउन मिल्ने विशेष उपकरण तयार गरिएको उनले बताएका छन । संविधानले राष्ट्रिय जनावरको मान्यता दिए पनि उपकरणका अभावमा गाईबाच्छा बचाउन कसैले पहल गरेको थिएन ।
घिर्नीको सहयोगबाट ६०० किलोसम्मको गाईबाच्छालाई उठाएर राख्न सकिने उपकरण गोठाटारमा सञ्चालित असहाय गाईबाच्छा संरक्षण अभियानमा नौलो प्रयोगका रुपमा प्रस्तुत गर्न थालिएको छ ।
यसको सफल प्रयोगपछि काठमाडौँ उपत्यकाभित्र दुर्घटनामा परेका एवं अशक्त धेरै बाच्छाबाच्छीले जीवन पाउने विश्वास गरिएको छ । करीब रु ३५ हजारमा निर्मित उपकरण बनाउन कागेश्वरी मनोहरा नगरपालिका–४ डाँछी निवासी सुन्दरराज पुडासैनीले रु पाँच हजार सहयोग थियो गरेको ।





