February 1, 2023, Wednesday
२०७९ माघ १८, बुधबार

स्थानीय तहको निर्वाचनमा सुरक्षा रणनीति, व्यवस्थापनका लागि गृहकार्य सुरु

काठमाडौँ- गृह मन्त्रालयले आसन्न २०७९ साल वैशाख ३० गतेलाई घोषित स्थानीय तहको निर्वाचन सुरक्षा रणनीति, व्यवस्थापन र तयारीका लागि गृहकार्य सुरु गरेको छ ।निर्वाचन सुरक्षा व्यवस्थापनमा राज्यका चारवटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना परिचालन गरिने भएको छ । विगत १० वर्षयता प्रहरी र सशस्त्र प्रहरीबाट अवकाशप्राप्त पूर्वसुरक्षाकर्मीलाई ‘म्यादी’ मा भर्ना गर्ने तयारी छ ।

गृह मन्त्रालयअन्तर्गत सुरक्षा तथा समन्वय महाशाखा प्रमुख एवं सहसचिव मुकुन्दप्रसाद निरौलाको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले निर्वाचन सुरक्षा व्यवस्था, त्यसका लागि आवश्यक तयारी, सुरक्षा जनशक्ति, परिचालन, मतदान केन्द्र र सुरक्षा अवस्थाका विषयमा गृहकार्य सुरु गरेको हो ।

वैशाख ३० गतेलाई निर्धारित स्थानीय तहको निर्वाचन सुरक्षा, तयारी, बन्दोबस्ती र परिचालनलगायतका विषयमा गृहकार्य तथा छलफल सुरु भएको सहसचिव निरौलाले बताउनुभयो । मतदान स्थल, मतदान केन्द्र र उपमतदान केन्द्रको विवरण सङ्कलन तथा सङ्ख्याका सम्बन्धमा निर्वाचन आयोगसँग छलफल भएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट १० वर्षको अवधिमा अवकाश लिएका पूर्वकर्मचारीको विवरण सङ्कलन गर्न सम्बद्ध निकायलाई निर्देशन दिइएको छ । सो सङ्ख्यापछि युवालाई म्यादी सुरक्षाकर्मीका रूपमा भर्ना लिइने छ । मुलुकका ७७ वटै जिल्लाको सुरक्षा अवस्थाका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय प्रमुखलाई राय सुझावका लागि सिफारिस गर्नसमेत पत्राचार गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको