October 2, 2023, Monday
२०८० आश्विन १६, मंगलवार

सर्त संशोधन नगरी एमसीसी पारित हुँदैनःअध्यक्ष दाहाल

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको सर्त संशोधन नगरी पारित गर्न नसकिने बताएका छन् ।

बिहीबार पार्टीको कर्णाली प्रदेश कमिटीको बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष दाहालले एमसीसीको सर्त संशोधन नभई कुनै हालतमा पनि पारित नहुने बताए ।‘हामीले अमेरिकी सहयोग लिनै हुन्न भनेका छैनौं, अन्य सहयोग लिई पनि राखेका छौं, एमसीसीमा भएका केही प्रावधान संशोधन हुनुपर्छ । त्यसो भएमा एमसीसीको बजेट लिन गाह्रो छैन । एमसीसीमा भएका प्रावधान संशोधन नभए यथास्थितिमा पारित हुँदैन,’ अध्यक्ष दाहालले भने ।

एमसीसीकै कारण गठबन्धन टुट्ने कुरा हल्ला मात्रै भएको बताउँदै पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म नै रहने दाबीसमेत उनले गरे । पाँच दलीय गठबन्धन टुटाउनका लागि अनेक षड्यन्त्र भइरहेको बताउँदै उनले जति षड्यन्त्र गरे पनि सफल नहुने बताए ।

प्रमुख प्रतिपक्षी एमालेले एमसीसीलाई देखाएर गठबन्धनमा खेल्न खोजेको दाहालको आरोप छ । अहिले एमसीसी पारित हुने कि नहुने चर्चा भइरहेका बेला उनले यही बीचमा गठबन्धन फुटाउने खेलसमेत गम्भीर रूपमा भइरहेको बताए ।

स्थानीय निर्वाचन जेठमा हुने उल्लेख गर्दै अध्यक्ष दाहालले पार्टीका हरेक गतिविधि गाउँ केन्द्रित बनाउनुपर्ने बताए । ‘पार्टी नेतामुखी, सहरमुखी भएको जनगुनासो आइरहेका छन् । तपाईंहरू गाउँ र जनतामुखी भएर लाग्नुस् । स्थानीय चुनावमा जनताको मन जितेर पहिलो शक्ति बन्नुस्,’ उनले भने ।

निर्वाचन आयोगले आगामी ४ जेठमा स्थानीय चुनाव गर्न गरेको प्रस्तावप्रति सरकार सकारात्मक बनेसँगै दाहालले कर्णाली प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै निर्वाचन केन्द्रित पार्टीको कार्यक्रम अगाडि बढाउन निर्देशनसमेत दिएका छन् । राजधानी दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको